Office Address

Aloknagar, Tinkune Kathmandu, Nepal



What are you looking for?

छापाखाना, प्रकाशन तथा बाँके जिल्लाको मुद्रण व्यवसायको संक्षिप्त इतिहास

पुर्णलाल चुके , उपाध्यक्ष, लुम्बिनी प्रदेश समिति
मानव जातिले आफूले व्यक्त गर्ने भावना, विचार र अभिव्यक्तिलाई मूर्त रूप दिने एकमात्र सशक्त माध्यम मुद्रण कला अर्थात् छापाखाना हो । कुनै पनि मुलुकको नियम, कानून, संविधान र लिखतलाई दस्तावेजको रूपमा संग्रह गर्नु आवश्यक हुन्छ । यसको लागि पनि छापाखानाको त्यत्तिकै आवश्यकता हुन्छ । आवश्यकता नै आविष्कारको जननी हो । त्यसैले होला प्राणी जगतको सर्वश्रेष्ठ पाणी मानव जाति छापाखानाको परिकल्पना गरी यसलाई मूर्त रूप दिन सफल भयो ।
छापाखानाको आविष्कारले मानव जातिलाई अत्यन्तै सहज तुल्याएको छ । यसको विकास क्रमले क्रमिक रूपमा चमत्कार देखाएको छ । जन्मेदेखि मरणोपरान्तसम्म पनि मानिसले छापाखानाको उपयोग नगरी सुख छैन । पत्रकारिता व्यवसायमा कार्यरत र यस पेशाप्रति रुचि राख्ने सबैको लागि छापाखानाबारे जानी राख्नु उपयोगी हुन्छ । पत्रकारिताको विकास मुद्रण क्षेत्रको विकासको अनुपातसंगै भएको देखिन्छ । यसैले पत्रकारिता र मुद्रण एक अर्काका पुरक बन्न गएका छन् भन्दा अत्युक्ति नहोला । त्यसैले छापाखानाबारे संक्षिप्त जानकारी तल प्रस्तुत गरिएको छ ।
छाप्ने प्रथाको पूर्व इतिहास :
संसारको पहिलो मुद्रक चिनियाँ पुरूष हुन् । तर ती चिनीयाँ पुरूषको नाम भने आजसम्म अज्ञात नै छ । अज्ञात भएतापनि उनले काठको टुक्रामा कुनै हतियारद्वारा खोपेर डिजाइन तयार पार्दथे । त्यही डिजाइनमाथि मसी जस्तो कुनै पदार्थ पोती त्यसमाथि कागज राखी थिच्दथ्यो र त्यसबाट तस्वीर निकाल्ने गर्दथ्यो । यसलाई ईसा पूर्व ११२२–२५८ मा चीनमा त्यहाँका बादशाहको बहादुरीको वर्णन खोपेर राखेको प्राप्त सवूदबाट प्रमाणित गरिएको छ । यही छाप्ने प्रथालाई इतिहासकारहरूलाई छाप्ने प्रथाको पूर्वकाल मानेका छन् ।
टाइपको प्रयोग सबैभन्दा पहिले लगभग सन् १४४० मा युरोपमा भयो । पन्ध्रौ शताब्दिमा गुटेनवर्ग नामक व्यक्तिले पहिलो प्रेस बनाए । यो प्रेसमा टाइपमाथि कागज राखेर विधि छाप्ने गरिन्थ्यो, यो प्रेसको २५० वर्षपछि बेन्जामिन फ्रैंकलिन नामक व्यक्तिले फेरि एउटा यस्तै प्रेस चलाए । यी सबै काठका प्रेस हुन् र सन् १७९८ सम्म काठकै प्रेसद्वारा छाप्ने गरिन्थ्यो । त्यही साल फलामको पहिलो प्रेस बन्यो । गुटेनबर्गले रक्सी बनाउन प्रयोग गर्ने अंगुर निचोर्ने यन्त्र (ध्ष्लभ एचभकक) लाई रूपान्तर गरी मुद्रण प्रविधिको रूपमा उपयोग गरियो । यही विधिवाट ३०० बाइबल छापे । यो आविष्कार थाहा नपाओस् भनी शुरूको अक्षर खाली राखी हातले कलात्मक अक्षर भथ्र्यो । तर पेरिस र भेनिसका कालिगढले थाहा पाएर नक्कल गरे ।
सन् १८१६ सम्म प्रेसको फ्लैट स्कीच्यू (पेच) को उपयोगद्वारा माथि तल गराइन्थ्यो । सन् १८२७ मा लिबरयुक्त पहिलो प्रेस बन्यो । यो प्रेस वाशिङ्टन ह्याण्ड प्रेस (ध्बकजष्लनतयल ज्बलम एचभकक) को नामबाट प्रसिद्ध भयो । यसपछि सन् १८३४ मा वाफद्वारा सञ्चालित प्रेस बन्यो, यो एडम प्रेसको नामबाट प्रसिद्ध भयो ।
यसैगरी सन् १८१२ मा पहिलो सिलिण्डर प्रेस बन्यो । सन् १८४५ मा टाइप रिवलभिङ्ग प्रेस बन्यो । सन् १८६५ मा विलियम वुल्लाकले कागजको दुबैतर्फ एकैसाथ छापिने प्रेस बनाए । त्यसपछि सन् १८७५ मा छाप्ने र कागज पट्याउने दुबै किसिमको प्रविधियुक्त प्रेस बन्यो र सन् १८८१ मा पहिलो त्रिकोण फार्मर प्रेस बन्यो । छापाखानाहरूमा प्रयोग हुने अक्षरहरु शिशाबाट तयार पारिन्छ । यसरी तयार गरिएका अक्षरहरू एक–एक जोडेर (Compose) फर्मा बनाइन्छ र त्यसपछि छाप्ने काम लेटर प्रेसको मेशीनबाट गरिन्थ्यो । अक्षर बनाउने मेशिनका रूपमा मोनो टाइम र लाइनो टाइपको आविष्कार भयो, जसलाई Hot Metal Process भनिन्छ । यो प्रविधिमा कागजमा प्वाल पारेर झोल राखिन्छ र त्यसबाट अक्षर निस्कन्छ । वास्तवमा मुद्रण कलाको इतिहास यसरी धातुको टाइपको आविष्कार हुनु पूर्व काठमा कुँदेर ब्लक बनाई छाप्ने गरिन्थ्यो । पछिल्लो समयसम्म लेटर प्रेसमा काठका ब्लकहरू पनि प्रयोग हुन्छ ।
नेपालमा छापाखानाको स्थापना :
नेपालमा छापाखाना (प्रेस) को स्थापना १९०८ सालमा भयो भन्ने भनाई छ । तर यसको कुनै प्रमाण भने अहिलेसम्म भेटिएको छैन । विक्रम सम्वत् १९०८ सालमा तत्कालीन प्रधानमन्त्री जङ्ग बहादुर राणा बेलायत जानु भएको थियो । त्यहाँबाट फर्केर आउँदा उहाँको साथमा एउटा हाते प्रेस र त्यसका सामानहरू ल्याइएको थियो । यसैलाई नेपालको पहिलो छापाखाना भनिन्छ । तर, यो प्रेस कहाँ स्थापना भएको थियो ? त्यो भने अहिलेसम्म प्रष्ट किटान कसैले गर्न सकेको छैन । यस मेसीनको थाप्लोमा एउटा पखेटा फिजिएको गिद्धको आकृति देखिन्छ । त्यसैले होला यसलाई त्यसबेला गिद्धे प्रेस भनिएको ।
नेपालमा सबैभन्दा अगाडि ल्याइएको गिद्धे प्रेसको स्थापनादेखि छापाखाना (प्रेस) को इतिहास शुरू भएको मानिन्छ । तर, वि.सं. १९१९ साल अघि नै काठमाण्डौको ठहिटीमा नेपालको पहिलो प्रेसको रूपमा “मनोरञ्जन प्रेस“ स्थापना भएको देखिन्छ । यो प्रेसले छापेको “मोक्ष सिद्धि’’ पुस्तकको कभर पृष्ठमा छापिएको विज्ञापन अनुसार यसले धेरै पुस्तक छापिसकेको देखिन्छ । १९१० सालमा बनेको पहिलो मुलुकी ऐनको चार भाग पनि तीन वर्ष लगाएर यही प्रेसले छापेको थियो भन्ने इतिहासमा उल्लेख छ । देश, काल परिस्थिति अनुसार तत्कालीन समयमा सीमित साधनहरूका वीच यो प्रेसले १०÷१२ साइजको करीब ११ सय पृष्ठको पुस्तक छाप्न सक्नु पनि ठूलो कुरा मान्नु पर्छ ।
प्रेस स्थापनाकै क्रममा वि.सं. १९२८ तिर वीर शम्सेरले “नारायणहिटी छापाखाना’’ स्थापना गरी सञ्चालन गरेको देखिन्छ भने १९४० तिर दानराज लामिछानेले नक्साल नागपोखरीको उत्तर तिर एउटा लिथोग्राफिक “चन्द्रप्रभा प्रेस” सञ्चालन गरेर त्यसबाट विभिन्न पुस्तक–पुस्तिका प्रकाशित गरेको इतिहासमा भेटिन्छ । १९४९ सालतिर “बसन्तपुर जङ्गी लिथो प्रेस’’ द्वारा ठहिटीमा ‘‘पशुपत प्रेस’’ को स्थापना गरिएको थियो । यसरी हेर्दा “गोरखापत्र’’ नेपालको जेठो समाचार पत्र छापिनु अघि राजधानीमा ५÷६ वटा छापाखाना चालु अवस्थामा रहेको देखिन्छन् ।
माथि लेखिएका छापाखानाहरू बाहेक १९६३ सालमा नेपाल सरकारबाट एउटा सानो र एउटा ठूलो समेत २ वटा ह्याण्ड प्रेसहरू खरीद भएको थियो । यस विषयमा “टाइप छापाखानाका डिट्टा द्वारिकानाथ पाध्याको नाउँमा भएको १९६३ साल मार्ग ३ गतेको सनद (सरकारी आधिकारिक आदेश) मा बझाङ्गी राजा जय पृथ्वीबहादुर सिंहसंग खरीद गरी बक्स्याको सानु प्रेस १ र बम्बईका मझौटा टाइप अन्दाजी फाराम । बम्बईकै टाइप फाराम आधा समेत खरीद गरिबक्स्याको र फेरि नयाँ ठूला प्रेस र त्यसलाई चाहिन्या व्ययहरू किसिमको देशबाट झिकाई देशवाट चलान मै आयाको बिल बमोजिम” भनी लेखिएको छ ।
यी हुन् १९६३ सालसम्म नेपाल सरकारसंग भएको बाहिर (विदेश) बाट नेपालमा ल्याइएको हाते प्रेसहरूको विवरण र नेपालमा छापाखाना स्थापनाको संक्षिप्त जानकारी ।
नेपालमा छापाखानाको आविष्कार ः
नेपालमा छाप्ने मेशिन (प्रेस) १९४९ सालमा पाको पोखल्ड्याङ (काठमाण्डु निवासी श्री कुवेर रत्न बज्राचार्य (दुरू काजी वज्राचार्यले बनाउनु भयो । नेपालमा बनेको यो पहिलो फलामे हाते प्रेस हो । यो प्रेसमा १२–१६ साइजको कागज छापिथ्थ्यो । हातले बना तानी चलाइन्थ्यो । यो प्रेस सम्बत १९४९ सालदेखि १९७९ सालसम्म “बुद्ध प्रेसको नामबाट पाको पोखल्ड्याङमा चालु रह्यो । यही प्रेमको स्थापनाबाट पछि अन्नपूर्ण प्रेस नामक छापाखानाको स्थापना भयो । यो प्रेस अहिलेसम्म पनि अन्नपूर्ण प्रेसको नामबाट चालु छ । तर हाल यसवाट काम लिने गरेको छैन ।
यो प्रेस बन्नु भन्दा अगाडि नेपालका प्रधानमन्त्री श्री ३ महाराज वीर शम्सेरको शासन कालमा ज. श्री गेहेन्द्र शम्सेर जंगबहादुर राणाद्वारा नेपालमा प्रेस बनाइएको थियो । यो प्रेसलाई “नारायण प्रेस“ भनिन्थ्यो । यो प्रेस नारायाणहिटी क्याम्प जमल भन्ने ठाउँमा थियो । १९५८ सालमा पशुपत प्रेसको पंडित नरदेव पाण्डेलाई “गोरखापत्र“ छाप्ने कार्यमा सहायता स्वरूप दिइयो भन्ने भनाई छ । तर “नारायण प्रेस” नेपालमा बनेको प्रेस हो भन्ने प्रमाण पाइन्न ।
विक्रम सम्वत् १९६७ सालतिर नेपालमा ओमबहान बस्ने पं. निष्टानन्द बज्राचार्यले लिथोमेशिन पनि बनाउनु भयो । यो मेशिन कन्तुरको आकृतिको थियो र र यसमा कम्पोज भएको अक्षर राखी त्यसमा एउटा रूलरले मसी दलिन्थ्यो र त्यसमाथि कागज राखी थिची छाप्ने गरिन्थ्यो । नेपालमा छाप्ने हाते मेसीन र लिथो मेसीनहरू नबनेका र त्यसबाट पुस्तकहरू नछापिएका पनि होइनन् । तर नेपालमा यसका आविष्कारहरूलाई सरकारबाट आवश्यक प्रोत्साहन भएको देखिएन, जसले गर्दा अन्य मुलुकमा झैं हाम्रो मुलुकमा प्रेसको आविष्कारक जन्मन नसकेको स्पष्ट हुन्छ । नेपालमा वि.सं. १९६९ मा मात्र विद्युतबाट चल्ने प्रेसको शुरूवात भएको इतिहास छ । तत्कालीन सरकारले नेपालकै जेठो अखवार गोरखापत्र दैनिकलाई विजुलीबाट छाप्नु भन्ने आदेश जारी गरेको तथ्यबाट यो कुरा प्रष्ट हुन्छ ।
नेपालमा सरकारी छापाखाना (प्रेस) बाहेक उद्योग व्यवसायको रूपमा सबैभन्दा पहिले विक्रम सम्वत् १९५० सालमा पण्डित मोतीकृष्णद्वारा काठमाडौंको ठहिटीमा पशुपत प्रेस नामक छापाखानाको स्थापना भयो र यस प्रेसको स्थापना पछि नेपालमा अरू प्रेस पनि स्थापना भएको देखिन्छ । तर ती प्रेसहरू राणा शासकका भाई छोरा र गुरू खलक बाहेक अरूको मातहतमा थिएन । यी प्रेसहरू आ–आफ्नो निवासस्थानमा सञ्चालन भएका थिए ।
माथि उल्लेखित छापाखानाहरू सबै हाते छापाखानाहरू हुन् र पछि यस मध्ये ढोका टोल प्रेस, भगवती प्रेस र सरस्वती प्रेमहरू अरूलाई बिक्री गरिएको थियो ।
अफसेट प्रविधिको छापाखाना :
हात वा खुट्टाले चल्ने सानो ट्रेडिल मेसीन अर्थात् लेटर प्रेस मेसीनबाट मुद्रण कार्य आरम्भ भै शताब्दियौंसम्म त्यही प्रविधि कायम रहेको थियो । यो प्रविधिले विश्वव्यापी रूप लिएपछि मानिसले अझ तीव्र गतिमा छाप्ने प्रेस मेसीनको आवश्यकता महसुस भयो । यही आवश्यकताको परिपूर्तिको लागि समयको परवर्तनसँगै नयाँ प्रविधिको खोज गर्ने क्रममा स्वचालित प्रेस मेसीनको परिकल्पना गरियो । यसै परिकल्पनालाई मूर्त रूप दिन १८७८ मा अमेरिकामा पहिलो अफसेट प्रेसको आविष्कार गरियो ।
काठ र शिशाले बनेको अक्षर उठेको र निश्चित आकारको हुन्छ भने अफसेट प्रविधिमा प्रयोग गरिने अक्षर र अक्षर नभएको भाग एउटै लेवलमा हुन्छ । अर्थात् यस प्रविधिमा प्रयोग गरिने प्लेट र कागजमा जस्तै अक्षर छापिएको हुन्छ, त्यही अक्षरले लाखौं लाख प्रति अफसेट प्रविधिको स्वःचालित प्रेस मेसीनको माध्यमबाट मुद्रण गरिन्छ । यसरी एउटै लेबलमा भएर पनि छापिनुको कारण के हो भने प्रेसमा प्रयोग गरिने कुनै पनि मसी पानी र तेल मिश्रित हुन्छ । र अक्षर भएको भागमा पानी पर्दैन र मसी मात्र पर्दछ, त्यही मसी लागेको अक्षर Rubber Blanket मा छापिन्छ र Rubber Blanket बाट कागजमा अक्षर छापिएर बाहिर निस्किन्छ ।
शुरू–शुरूमा रेखा चित्र र नक्सा अर्थात् कुनै पनि आकृतिलाई जस्ताको तस्तै छाप्नु पर्दा मात्र अफसेट प्रविधिको प्रयोग गरिन्थ्यो । त्यसैले अफसेट प्रविधिलाई फोटोग्राफी प्रविधि पनि भन्ने गरिन्छ ।
अफसेट प्रेसको किसिम :
फोटोग्राफी प्रविधियुक्त अफसेट प्रेस पनि विभिन्न किसिमका हुन्छन् । यसको किसिम अनुसार मुद्रण क्षमता (उत्पादन) गुणस्तर पनि फरक–फरक हुन्छन् ।
(क) लिथोग्राफिक अफसेट प्रेस :
यो प्रेस एकदमै सानो आकारको हुन्छ । सरकारी कार्यालयहरूमा प्रयोग गरिने लिथो मेसीनकै आकारमा र यसैको विकसित रूप लिथोग्राफीक मेसीन हो । यो मेसीन शुरूमा जापानमा बनेको थियो भने अहिले चीन र अरू मुलुकले पनि बनाइसकेको छ । यो मेसीनमा स्टेन्सील पेपर जस्तो माथिल्लो भागमा प्वाल परेको कागजको प्लेट प्रयोग गरिन्छ । आफूले छाप्न चाहेको सामाग्रीहरूलाई फोटोकपि मेसीनको सहयोगमा यो प्लेटमा सामाग्री उतारिन्छ, त्यसपछि यसलाई निश्चित समयसम्म हिट दिएपछि मेसीनमा राखेर छापिन्छ । यसको छाप्ने क्षमता प्रति घण्टा करीब ३००० मात्र हुन्छ । यो मेसीनले ब्द्ध भन्दा ठूलो आकारको छाप्न सक्दैन ।
ख) फोटोग्राफिक अफसेट प्रेस :
अफसेट प्रेस लिथोग्राफिक अफसेट प्रेसको विकसित रूप हो ।
नेपालमा अफसेट प्रेसको शुरूवात :
नेपालमा करीब एक शताव्दी अगाडिदेखि अफसेट प्रविधि प्रवेश गरेको मुद्रण क्षेत्रमा नयाँ आयाम थपियो । यो प्रविधिमा अक्षरहरू सबै कम्प्यूटरबाटै तयार गरिन्छ । यस प्रविधिमा जुनसुकै फोटो, चित्र र डिजाइनहरू फोटोग्राफीमा प्रयोग हुने नेगेटिभ र प्लेटको माध्यमबाट रासायनिक प्रक्रियाबाट तयार गरेर मुद्रण गरिन्छ । यस प्रविधिको विकास तीव्र गतिमा भैरहेकोछ । मुद्रणको क्षेत्रमा विश्वमा नयाँ नयाँ अनुसन्धान र आविष्कार भैरहेका छन् । फलस्वरूप कम्प्यूटर प्रविधिमा आधारित फोटो टाइपसेट, स्क्यानिङ्ग मेसीनको आविष्कार भई विकसित र विकासोन्मुख मुलुकहरूमा पनि व्यापक रूपमा प्रयोग भैरहेका छन् । नेपालमा पनि यो प्रविधि एकदमै लोकप्रिय, प्रभावकारी र छिटो छरितो मात्र होइन आकर्षक पनि भएकोले सरकारी र निजी क्षेत्रका व्यापक रूपमा प्रयोग गर्न थालिएको छ । फोटो टाइप सेट मेसीनबाट अक्षर कम्पोज हुने हुँदा यस प्रक्रियालाई ऋयमि क्थकतझ पनि भनिन्छ ।
नेपालमा वि.सं.१९७५ पहिलो पटक गोरखापत्रले अफसेट प्रेस ल्याएपछि नेपालमा अफसेट प्रविधिको शुरूवात भयो । त्यसपछि जोरगणेश प्रेसले अफसेट प्रविधिको प्रेस मेसीन भित्राएको थियो ।
कम्प्यूटरबाट तयार गरिएका अक्षर र डिजाइनलाई प्रिन्टरबाट एक प्रति ःबकतभच ऋयउथ तयार गरी Vertical Camera को सहयोगबाट नेगेटिभ फिल्म तयार गरिन्छ, त्यसपछि त्यो नेगेटिभ फिल्मलाई ब्रोमाइट पेपरमा पेष्टिङ्ग गरी प्लेटमेकर मसीनमा जिङ्क प्लेटमा निश्चित विद्युत शक्ति र समयमा एक्स्पोज गरी प्लेट तयार गरिन्छ । त्यसपछि मात्र अफसेट मेसीनमा छापिन्छ । यो प्रविधिवाट छापेको स्तर लेटर प्रेसको भन्दा धेरै राम्रो र छिटो छरितो हुन्छ । त्यसैले पनि यो प्रविधि ज्यादै लोकप्रिय भएको हो ।
यो प्रविधिमा प्रयोग गरिने आल्मुनियम अर्थात् जिङ्ग प्लेट तयार गर्ने प्रक्रिया अलि लामो, झन्झटिलो र महँगो भएकोले यो भन्दा ज्यादै छिटो छरितो र न्यून मूल्य हुने नयाँ प्रविधि केही वर्ष पहिले मात्र आविष्कार गरिएको छ । त्यो हो–Poly Plate। यो प्रविधिमा कम्प्यूटरबाट सिधै कागजको सट्टा एयथि एबितभ प्रिन्ट गरेपछि निश्चित समयसम्म हिट दिएर (तताउने) सिधै प्रेसबाट छापिन्छ । यो प्रविधि सस्तो र छिटो छरितो छ । तर छपाईको गुणस्तर भने जिङ्क प्लेटको तुलनामा त्यति राम्रो हुँदैन ।
पश्चिम नेपालमा छापाखानाको स्थापना र विकास क्रम ः
पश्चिम नेपालमै पहिलो पटक नेपालगन्जमा २०१६ सालमा तत्कालीन वडाहाकिम योगेश्वर मिश्रले “मातृभूमि प्रेस’’ स्थापना गर्नु भएको थियो । त्यसपछि पाटन प्रिन्टिङ प्रेस, बागेश्वरी प्रिन्टिङ प्रेस, रारा प्रिन्टिङ प्रेस, श्रेष्ठ प्रिन्टिङ प्रेस लगायत क्रमशः स्थापना र सञ्चालन हुन थाल्यो । २०४८ मंसिरमा एहा नामक जर्मन मेसीन लिथोग्राफिक अफसेट मेसिन (ए–फोर आकारको) ल्याएर अम्बेश्वरी प्रिन्टिङ प्रेसको नाममा श्री कुसुम बस्नेतले स्थापना गर्नुभयो । त्यसपछि २०५१ सालमा पश्चिम नेपालमै पहिलो पटक ठुलो साइज (१५÷२० साइज) को चेक अफसेट मेसीन राखेर बागेश्वरी अफसेट प्रेस नाममा पूर्ण लाल चुके र उदय श्रेष्ठले स्थापना गरेका थिए । तत्कालीन अवस्थामा यो प्रेस बुटवलदेखि पश्चिम नेपालमा स्थापना भएको ठुलो आकारको पहिलो अफसेट थियो । सोही प्रेसबाट नेपालगन्जमा मात्र होइन पश्चिम नेपालमै पहिलो पटक जनमत अद्र्ध साप्ताहिक पत्रिका अफसेट प्रविधिबाट प्रकाशन शुरु भएको थियो ।
बाँके जिल्लामा छापाखाना व्यवसाय नेपालगन्जमा मात्र केन्द्रित थियो, तर केही वर्ष यता बाँकेको अर्को विकसित नगर कोहलपुरमा थुप्रै अफसेट प्रेसको स्थापना र सञ्चालन भइरहेका छन् । २०६० देखि श्री चिन्तामणि उपाध्याय (सि.एम) र स्वर्गीय दीपक ढकालले झण्डै ४ वर्षसम्म डिजाइन गरेर प्लेट बोकेर नेपालगन्जका प्रेसमा आएर छाप्ने काम गरेका थिए भने २०६४ सालमा जमुना शर्माले पि.पि. अफसेट प्रेस मेसीन ल्याएर कोहलपुरमै छाप्ने सुविधाको शुरुवात गरेका थिए ।
कोहलपुरमा अहिले आफ्नै मेसीन राखेर सञ्चालनमा रहेका १३ वटा अफसेट छन् । अहिले नेपालगन्ज र कोहलपुरमा अफसेट प्रेसका साना ठुला मेसीनहरु करीब ६० वटा छन् भने स्क्रिनप्रिन्ट र फ्लेस मेसीन सहित १२५ को हाराहारीमा देखिन्छन् ।
मुद्रण व्यवसायीहरुको संगठन ः
रेक्सा चालक, विभिन्न उद्योगका मजदूरहरु वा अन्य पेशागत व्यवसायीहरुले आफ्नो पेशागत हक हितको संरक्षण र अधिकारका लागि संगठित भएको अवस्थामा बाँकेका मुद्रण व्यवसायीहरु भने संगठित हुन सकेका थिएनन् । यो अवस्थालाई मध्यनजर गर्दै बाँके जिल्लामा पहिलो पटक २०४२ साल तिर मुद्रण उद्योग संघको तदर्थ समिति गठन गरियो । श्रेष्ठ प्रिटिङ प्रेसका सञ्चालक श्री बासुदेव श्रेष्ठको अध्यक्षतामा रारा प्रिन्टिङ प्रेसका सञ्चालक श्री पूर्ण लाल चुके सचिव रहेको एक समिति बनाएर सीमित संख्यामा रहेका मुद्रण व्यवसायीहरु संगठित भएका थिए । जुनबेला बाँकेको नेपालगन्जमा मात्र सीमित रहेका छापाखानाको संख्या औंलामा गन्न सकिने पनि थिएन ।
नेपालगन्जमा मुद्रण उद्योगहरु पनि थपिंदै गयो र करीब दुई दशक पछि २०६५÷०६६ तिर सफल अफसेट प्रेसका सञ्चालक श्री गणेश खनालको अध्यक्षतामा मध्यपश्चिम अफसेट प्रेसका सञ्चालक श्री मेघराज ओली सचिव रहेको समिति निर्माण गरियो । यो समिति पनि त्यति चलायमान नभएपछि २०६७÷०६८ तिर बाँकेका मुद्रण व्यवसायीहरुको वृहत भेलाले श्री ज्योतिलाल भण्डारीको अध्यक्षतामा अर्को तदर्थ समिति गठन गरी यो समितिलाई विधिवत रुपमा दर्ता गर्ने जिम्मेवारी दिइयो ।
उक्त तदर्थ समितिले २०६८÷०६९ मा जिल्ला प्रशासन कार्यालय, बाँकेमा नेपाल मुद्रण उद्योग संघ बाँकेको विधिवत दर्ता गरेको थियो । त्यसपछिको जिल्ला अधिवेशनले श्री ज्योतिलाल भण्डारीकै अध्यक्षतामा नेपाल मुद्रण उद्योग संघ बाँकेको वैधानिक कार्यसमिति चयन गर्यो । बाँकेमा नेपाल मुद्रण उद्योग संघ दर्ता भएको लगत्तै २०६८÷२०६९ सालमा काठमाडौंमा भएको मुद्रण व्यवसायीहरुको महाधिवेशनले नेपाल मुद्रण उद्योग महासंघ दर्ता गरी पहिलो कार्यसमिति चयन गरेको थियो । नेपाल मुद्रण उद्योग संघ बाँके महासंघ दर्ता गर्दा १० वटा संघ मध्ये एक संस्थापक सदस्य हो ।
केही समयसम्म निस्क्रिय रहेको संघमा पादुका अफसेट प्रेसका सञ्चालक श्री तपेन्द्र विक्रम शाही अध्यक्षको रुपमा जिम्मवारी दिइए तापनि निस्क्रिय भएपछि गैरे अफसेट प्रेसका सञ्चालक श्री चण्डी प्रसाद गैरेको नेतृत्वमा समिति पुनर्गठन गरिएको थियो । यसपछि संघलाई पुनर्जागृत गर्न अम्बेश्वरी छापाखानाका सञ्चालक कुसुम बस्नेतको अध्यक्षतामा नयाँ समितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको थियो र केही वर्ष यो समिति पनि चलायमान भयो ।
त्यसपछि पनि केही वर्ष निस्क्रिय रहेको संघलाई पुनर्जीवन दिन र सक्रिय बनाउने उद्देश्यले २०७४ फाल्गुन ५ गते आयोजित जय बागेश्वरी अफसेट प्रेसका सञ्चालक पूर्ण लाल चुकेको अध्यक्षतामा सम्पन्न वृहद् भेलाले कुसुम बस्नेतको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन गर्यो । आफ्नै व्यवसायमा व्यस्त हुनुपर्ने वाध्यताले हुनसक्छ, यसरी कहिले सक्रिय हुने कहिले सेलाउने क्रममा विभिन्न आरोह अवरोह पार गर्दै आजको स्थितिसम्म आइपुगेको कटुसत्यलाई भने बाँकेका मुद्रण व्यवसायीहरु कसैले नकार्न मिल्दैन ।
करीब २ वर्ष अघि बाँके जिल्लाका मुद्रण व्यवसायीहरुको भेलाद्वारा मिसन अफसेट प्रेस, कोहलपुरका सञ्चालक श्री विनोद पौडेलको अध्यक्षतामा नेशनल अफसेट प्रेस, कोहलपुरका सञ्चालक श्री नोकराज रावत सचिव रहेको नेपाल मुद्रण उद्योग संघ बाँके पुनर्गठन गरिएको समितिले बाँकेका मुद्रण व्यवसायीहरुको नेतृत्व गरिरहेकोछ ।
महासंघमा बाँकेको प्रतिनिधित्व ः
नेपाल मुद्रण उद्योग महासंघको स्थापना कालदेखि नै महासंघको केन्द्रीय समितिमा बाँके जिल्लाको प्रतिनिधित्व रहँदै आएको छ । वर्तमान अवस्थामा म्याक्सवेल अफसेट प्रेसकी सञ्चालिका श्रीमती मीना सुवेदी ढकाल केन्द्रीय सहसचिव हुनुहुन्छ भने गैरे अफसेट प्रेस, कोहलपुरका सञ्चालक श्री चण्डी प्रसाद गैरे र नेपाल मुद्रण उद्योग संघ बाँकेका वर्तमान अध्यक्ष तथा मिसन अफसेट प्रेसका सञ्चालक श्री विनोद पौडेल केन्द्रीय सदस्यको रुपमा प्रतिनिधित्व गर्नु भएको छ भने सिटिपि हाउस, नेपालगन्जका सञ्चालक श्री मनोज जि.सी. लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै केन्द्रीय उपाध्यक्षको रुपमा महासंघमा पदासीन हुनुहुन्छ । यसअघि महासंघको स्थापना पश्चात् श्री मेघराज ओली उपाध्यक्षको रुपमा दुई कार्यकाल तथा श्री ज्योतिलाल भण्डारी, श्री कुसुम बस्नेत, श्री तपेन्द्र विक्रम शाही (दुई कार्यकाल) र श्री मीना सुवेदी ढकाल केन्द्रीय सदस्यको रुपमा प्रतिनिधित्व गर्नु भएको थियो ।
महासंघको लुम्बिनी प्रदेश समितिमा बाँकेको प्रतिनिधित्व ः
नेपाल मुद्रण उद्योग महासंघको लुम्बिनी प्रदेश समितिमा उपाध्यक्ष पूर्ण लाल चुके, सचिव श्री चिन्तामणि उपाध्याय (सि.एम.) र सदस्यमा विहानी छापाखानाका सञ्चालक श्री हरि प्रसाद ज्ञवालीले बाँके जिल्लाबाट प्रतिनिधित्व गर्नु भएको छ ।
(लेखक चुके विगत चार दशकदेखि पत्रकारिता पेशामा संलग्न तथा नेपाल मुद्रण उद्योग महासंघको लुम्बिनी प्रदेश समितिमा उपाध्यक्ष हुन् । –सम्पादक)