चितवनको मुद्रण क्षेत्र : उज्यालोतिर उन्मुख
केदारनाथ खनाल , पूर्व अध्यक्ष, मुद्रण संघ चितवन
सभ्यताको विकासको क्रमसँगै चेतनशील प्राणी मानवको मनोभाव व्यक्त गर्ने विभिन्न माध्यमहरू अपनाइए । विचार विनिमय गर्न, दोहोरो संवाद गर्न मान्छेले आजसम्म पाएको सर्वोत्तम वरदान वाणी (बोली) नै हो भने इसारा, सङ्केत, हाउभाउ, लिखित चिह्न आदि पनि वैकल्पिक उपाय वा प्रतीकको रूपमा प्रयोग हुँदै आएका छन् । ध्वनिको प्रतीक लिपिको विकास हुनुभन्दा पूर्व अर्थात् आजभन्दा करिव सवा पाँच हजार वर्षअगाडि ढुङ्गामा भावचित्र कोपेर मानिसले लिखित अभिव्यक्तिको श्रीगणेश गरेको पाइन्छ । पच्चीस सय वर्षपूर्व संसारका विभिन्न भाषाका वर्णमालाको लिपिको विकास गर्दा ढुङ्गामा कप्ने, तामाको पाता, सुनको पाता, ताडपत्र, भुर्जपत्र आदिमा लेख्ने क्रम पछि काठको ब्लकमा मसी लगाएर छाप्ने चलनको अवशेष अहिलेको रबर स्ट्याम्प वा औंठीछाप हो । प्रामाणिकताका लागि लालमोहर लगाउने प्रचलन यसको ज्वलन्त उदाहरण हो ।
सन् १४४० तिर जर्मनीका जोन गुटेन वर्गले शिशाको अक्षर (Moveable Type) को आविष्कार गरे । अलग–अलग अक्षर, मात्रा, स्पेस–क्वाड–कोटेशन जोडेर आवश्यकताअनुसार जोड्दै र खोल्दै(Compose-Decompose) गर्दै चेसमा कसेर ट्र्ेडिल, प्लाटेन, फ्ल्याट मेसिनबाट एकैपटकमा हजारौं प्रति छापिने व्यवस्था भएपछि मुद्रणको क्षेत्रमा हलचल पैदा भयो । हातले सारेर लिपिकरण गर्ने, एउटा–एउटा ब्लकले छपाइ गर्ने युगबाट शिक्षाका अक्षर हैण्ड कास्ट, मोनोकास्ट गरेर पहिले हाते र पछि विद्युतका सहायताबाट फ्ल्याट, प्लाटेन प्रेस, वाष्पचालित सिलिण्डर प्रेस मेसिनबाट पुस्तक, पत्रपत्रिका छापिन थालेपछि जादूमय प्रगति भयो । विज्ञान र प्रविधिको आविष्कारले नयाँ युगमा प्रवेश ग¥यो ।
सिलिण्डर प्रेससँगसँगै लिथोग्राफी प्रविधिको पनि विकास भयो । सन् १८०० मा आविष्कार भएको लिथो प्लेट मेसिनले कालान्तरमा गेष्टेटनर डुब्लिकेटिङ मेसिन (साइकोस्लाइल) मा विकसित भयो । सिलिन्डर प्रविधिबाट अफसेटसम्म आउन करिव नब्बे वर्ष र वाष्पको स्थान विद्युतले लिएको देखिन्छ । बीसौं शताब्दीले एक्काईसौं शताब्दीलाई मुद्रणको क्षेत्रमा उन्नत प्रविधि दिएर गयो । खुसीको कुरा हो ।
नेपालको सन्दर्भमा भन्दा तत्कालीन प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणा बेलायतको भ्रमणबाट फर्कंदा साथमा ल्याएको ८”x१३” को साइजको हाते फलामे ढलुवा (थाप्लोमा गिद्धको आकारजस्तो देखिने) मेसिन ल्याएका थिए । यसको चलनचल्तीको नाम ‘गिद्धेप्रेस’ थियो । नेपालको प्रेसको इतिहासमा सुनौलो स्थान प्राप्त यस प्रेसले तीन वर्ष लगाएर १०३८ पेज नेपाली कागजमा मुलुकी ऐन छापेको थियो । सरकारी स्तरमा यही एउटा गिद्धे प्रेस थियो भने वनारसमा भारतेन्दु हरिश्चन्द्रसँग मिलेर ‘गोरखा भारत जीवन प्रकाशन’ समेत गरी छापाखाना सञ्चालनको अनुभव बटुलेका मोतीराम भट्टले १९५० सालमा काठमाडौं ठहिटीमा मोतीकृष्ण नरदेव धीरेन्द्र मिलेर ‘पशुपत प्रेस’ खोलेका थिए । जनस्तरमा सञ्चालित यसै प्रेसमा पहिलो नेपाली साहित्यिक पत्रिका सुधासागर छापिएको थियो । प्रधानमन्त्री देवशमशेरको पालामा १९५८ साल वैशाखदेखि सुरुभएको गोरखापत्रले अनेकौं घुम्ती, गौंडा, गल्छेडाहरू पार गर्दै हालसम्म अनेकौं पत्रपत्रिका छपापइमा निरन्तरता दिइरहेकै छ । एकपछि अर्को पत्रपत्रिकाको प्रकाशनको ढोका खुल्दै आएको छ, चेतनाको आलोक छरिँदै छ ।
प्राचीन ग्रन्थहरू पुराण, इतिहासमा पर्याप्त उल्लेख भए पनि आधुनिक चितवनको इतिहास, राप्तीदून पुनर्वास परियोजना २०१३ पछि नै सुरु हुन्छ । चितवनका आदिवासी थारु, दरै, चेपाङमा चेतनाको कमी थियो । राणा–शाहीहरूको सिकार खेल्ने यहाँको घना जङ्गलमा हात्ती, गैंडालगायत बाघ, भालुजस्ता हिंस्रक जनावर थिए । औलोको प्रकोप त्यस्तै व्यापक थियो । हुकुमी राणाशासनमा वाक्स्वतन्त्रता हुने कुरै भएन । त्यसैले यहाँको शिक्षा–साहित्य र आधुनिक सभ्यताको इतिहास छोटो छ । २००७ सालसम्म आइपुग्दा नेपालको साक्षरता २% मात्र थियो भने चितवन त शून्यप्रायः नै । सदरमुकाम उपर्दाङगढीबाट भरतपुरमा २०१४ सालमा मालअड्डा र २०१६ सालमा जिल्ला अदालत सरेको हो । २०१८ सालमा चितवनको जनसङ्ख्या १,८३,४६४ जना थियो भने २०१७ सालमा यहाँको शिक्षास्थितिमा २२ प्रा.वि. मा २६४ जना विद्यार्थी र ४२ जना शिक्षकहरू थिए ।
राप्ती दून र ग्रामीण विकास परियोजनाका माध्यमबाट पुनर्वास कालीन चितवनले गति लिन लागकेो बेलामा २०१७ पौष १ गते संसदीय व्यवस्था विघटन गरी पञ्चायती व्यवस्था लागु भएपश्चात् पार्टी प्रतिबन्ध लाग्यो, स्वतन्त्रता हरायो । पत्रपत्रिका प्रकाशन बन्द भयो । २०१८ साल माघ २६ मा नेपाली कांग्रेसले जिल्ला सदरमुकाम कब्जा ग¥यो । ७२ घण्टा पुग्दा–नपुग्दै शाही सेनाले प्रत्याक्रमण गरेर धेरै धनजनको क्षति भयो । नेपाली कांग्रेससहित धेरै सोझा–सिधा जनता पनि हताहत र तितर–वितर भए । बिजुली बत्ती, पानी थिएन, बाटाघाटा, पुल–पुलेसाको अभावमा आवागमन सहज थिएन, जनजीवन कष्टकर थियो ।
चितवन जिल्लाको यस्तै परिवेशमा सु. रामजी रानाले २०२० सालमा खुट्टाले चलाउने १०”ह१५” साइजको ट्रेडिल मेसिन राखेर ‘नारायणी प्रेस’ सुरु गरेका थिए । २०२३ सालमा नारायणगढमा अद्वैतका किताब छाप्नका लागि वसन्तलाल चुकेले फ्ल्याट मेसिन राखे भने, २०२६ सालमा विमलदेव श्रेष्ठको नाममा ‘भारती प्रेस’ र भरतपुरमा केदारनाथ खनालको ‘चितवन छापाखाना’, २०३४ सालमा सञ्चालनमा आएपश्चात् एकपछि अर्को प्रेसहरू खुल्ने क्रम जारिरह्यो । साढे तीन दशकको अवधिमा अर्थात् २०५५ सालसम्म आइपुग्दा खुलेका ४१ वटा प्रेसहरूमध्ये दुई दर्जन मात्र अस्तित्व रहेर र बाँकी नाम फेरिए, केही बन्द भए । प्रेस स्वतन्त्रता नभएको पञ्चायतकालीन अवस्थामा संस्था दर्ताका लागि पुलिस रिपोर्ट अनिवार्य थियो र अनुकूल भए पनि रिपोर्ट आउन महिनौं दिन लाग्न सक्थ्यो । सूचना विभागदेखि सञ्चार मन्त्रालयसम्मको स्वीकृतिमा मात्र जिल्ला प्रशासन कार्यालयको आदेशमा ग्रामीण तथा घरेलु उद्योगले दर्ता गर्ने प्रक्रिया नै झन्झटिलो थियो । छापाखानामाथि प्रशासनको कडा निगरानी थियो एकातिर भने अर्कोतिर कागज, मसी, केमिकल आदि कच्चा पदार्थ र टाइप, केश, रुल–क्वाड–कोटेशन–स्पेस आदि आवश्यक सामग्रीको लागि पटना, इलाहवाद, वनारस पुग्नुपथ्र्यो ।
नारायणीको पुल र मुगलिनको बाटो बनेको थिएन । काठमाडौंको लागि हेटौंडा हुँदै त्रिभुवन राजपथको घुम्ती घुम्नुपथ्र्यो । तालिमप्राप्त नेपाली कादारको अभाव थियो । कम्पोजिटर, मेसिन अपरेटर, बाइन्डरजस्ता कर्मचारी प्रायः बोर्डरपारिका हुन्थे । त्यसमाथि कर्मचारी तानातान हुन्थ्यो । एउटा प्रेसमा काम गरिरहेको कर्मचारीलाई अर्को प्रेसले थप प्रलोभन, सुविधा दिएर अर्कोमा तान्ने–भड्काउने प्रवृत्ति त थियो नै छपाइ दररेटमा पनि घटाघटमा काम लिने अस्वच्छ प्रतिस्पार्धा हुन्थ्यो, जुन मुद्रण व्यवसायीका लागि आत्मघाती थियो । यसैबीच २०३६ सालमा राजा वीरेन्द्रबाट ‘सुधारिएको पञ्चायती व्यवस्था कि, बहुदलीय शासनव्यवस्था’ भनेर जनमत सङ्ग्रहको घोषणा भयो । पञ्चायतको गाँठो खुकुलियो – शिक्षक सङ्गठन, निजामती कर्मचारी सङ्गठनलगायत सङ्घ–सङ्ठनहरू जुर्मुराए । छापाखानाका मजदुरहरू पनि के कम ! सङ्गठित हुँदै विभिन्न सुविधाका माग राख्दै हडतालसम्ममा उत्रिए । प्रेसमालिक र मजदुरबीच खिचातानी भयो । एकपछि अर्को समस्या थपिँदै र समाधानका उपायहरू पनि खोजिँदै गए । यसैबीच २०३५ सालमा काठमाडौंमा ‘नेपाल मुद्रण उद्योग सङ्घ’ स्थापना गर्दाको केही अनुभव त्यहाँको गतिविधिसँग परिचित पनि म आफै भएकाले स्थानीय मुद्रण व्यवसायी साथीहरूसँगको भेला, लामो छलफल र परामर्शपछि २०४४ सालमा कुमार छापाखानाका प्रोप्राइटर गङ्गाराम श्रेष्ठको अध्यक्षतामा ‘मुद्रण उद्योग सङ्घ, चितवन’ तदर्थ समिति गठन भयो । यसै संस्थाको माध्यमबाट प्रेस मजदुरहरूसँग विभिन्न चरणमा वार्ता भई, कार्यघण्टा, कार्यक्षमताको आधारमा तलब स्केल, ओभरटाइम, खाजा, डेरा भाडा र बिदा आदिमा एकरूपता कायम गर्नुका साथै छपाइसम्बन्धी सामान्य दररेट कायम गरियो । त्यसैगरी प्रेस मजदुर एउटा प्रेस छोडेर अर्को प्रेसमा जाँदा क्लियरेन्सको साथै सहमतिपत्र ९ल्य इदवभअतष्यल ीभततभच० अनिवार्य गरियो । ‘सङ्घे शक्ति कलौ युगे’ चरितार्थ भयो । मुद्रण उद्योगका समस्या र समान गर्न हक, हितका निम्ति प्रयास गरियो । जिल्लामा छपाइ हुनसक्ने सामग्री जिल्ला बाहिर वा भारत लैजादा प्र.जि.अ. को अनुमति लिनुपर्ने, विना अनुमति भारत लगी छापेमा भन्सार लाग्ने, मेसिनरी सामान ल्याउँदा १% मात्र भनसार लाग्ने आदि सहुलियत पाउने उपलब्धि भयो । दैलाको भृकुटी कागज कारखानाको डिलर वीरगन्ज भएकाले स्थानीय तहमैं डिलरको व्यवस्था वा सोझै कारखानाबाट कागज लिन पाउने व्यवस्था भयो ।
मुद्रण उद्योग सङ्घ चितवन २०४४ सालमा स्थापना भए पनि २०५४ सालमा आएर मात्र जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भयो । २०४५ सालमा भएको अधिवेशनले सुलभ छापाखानाका प्रो. चूडामणि पौडेलको अध्यक्षतामा मुद्रण उद्योग सङ्घ चितवनको कार्यसमिति पुनर्गठन भयो भने २०४८ साउन ३ गते मेरो (केदारनाथ खनाल, चितवन छापाखाना) अध्यक्षतामा कार्यसमिति पुनर्गठन भयो । सो सङ्घको विधानमा “एउटा कल्याणकारी कोष स्थापना गरी आर्थिक गतिविधि सञ्चालन गर्ने” उद्देश्य भएअनुरूप मेरै कार्यकालमा ‘मुद्रण व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि.’ स्थापना भयो । त्यतिबेला ३२ जना मुद्रण व्यवसायीहरूको सहभागिता रहेको यस सहकारी संस्थामा हाल ९० जना शेयर सदस्यहरू रहेका छन् । सवा करोड रकम जम्मा पुँजी र लगानी एक करोड १५ लाखसम्मको वरपर भएको छ र हाल एकजना व्यक्तिले रु. पाँच लाखसम्म ऋण लिनसक्ने व्यवस्था रहेको छ त्यसैगरी मेरै कार्यकालमा सर्वप्रथम १९५० मा जनस्तरमा ‘पशुपत प्रेस’ स्थापना गर्ने मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा २०५४ सालमा प्रकाशन सुरु गरिएको मुद्रण बुलेटिनले निरन्तरता पाइरहेको छ । हालसम्म विशेष स्मारिका तीन अङ्क प्रकाशित भएको छ ।
जोन गुटेन वर्गको विकसित Moveabale Type र हातेप्रेसदेखि अफसेटसम्म आइपुग्न करिव साढे पाँच दशक लागेको देखिन्छ भने नेपालको गिद्धे प्रेसदेखि आजसम्मको मुद्रण इतिहास एक सय एकहत्तर वर्ष लामो छ । चितवनको नारायणी प्रेसदेखिको हालसम्मको इतिहास करिव छ दशक देखिन्छ । यसबाट प्रस्ट हुन्छ विश्व मुद्रण प्रविधि विकासको गतिमा नेपाल र चितवन मुद्रण अवधिको कुन स्थानमा छ भनेर । यसबीचमा नारायणी नदीमा धेरै पानी बगिसकेको छ । यो छ दशकको अवधिमा निर्दलीय पञ्चायती व्यवस्था, २०४६ सालपछि बहुदलीय संसदीय व्यवस्थाको पुनर्वहाली र २०६२÷०६३ पछि लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा आएको राजनैतिक फेरबदलसँगै सबै कुरामा परिवर्तन आउनु स्वाभाविकै हो । २०७०÷०७१ सालमै साक्षर घोषित भएको चितवन जिल्ला शिक्षा र स्वास्थ्यको हबको रूपमा विकास हुँदै छ । मेची–महाकालीको मध्यभाग, राजधानी काठमाडौं प्रवेशद्वार नारायणगढ भरतपुर महानगरपालिका १, नगरपालिका ५ र गाउँपालिका १ सहित ७ स्थानीय निकाय भएको चितवन कृषि र पर्यटनको दृष्टिकोणले समेत शिक्षा र स्वास्थ्यसँगै अब्बल दर्जामा छ भने यति धेरै संभावना बोकेको चितवनमा मुद्रण उद्योगले पनि छलाङ मार्दैछ । हालै मिति २०७९ माघ १४ गते सम्पन्न मुद्रण उद्योग सङ्घ चितवनको २१औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशनबाट सिद्धबाबा प्रेसका सञ्चालक श्री सञ्जीव सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति पुनर्गठन भएको छ । पेसागत इमान्दारिता, सीप, जाँगर र प्रविधिमैत्री हुन सकोस् । उहाँको टिमको सफल कार्यकालको लागि शुभकामना र सबैलाई बधाई ।
हाल चितवनमा १०६ वटा मुद्रण व्यवसायहरू सञ्चालनमा छन् र मुद्रण उद्योग सङ्घ चितवनलाई मासिक शुल्क बुझाउने क्रियाशील ८० छन् । नवलपरासी, गोरखा, लमजुङ, तनहुँ, धादिङ, मकवानपुर, वारा, पर्सा, रौतहट, दाङ, बाँके, बर्दिया आदि जिल्ला क्याचमेन्ट एरिया भएको चितवनको मुद्रण क्षेत्र काठमाडौंपछि रूपन्देहीलाई उछिनेर दोस्रो हुने तरखरमा छ – पर्यटनको क्षेत्रमा काठमाडौंपछिको पोखरालाई उछिन्न खोजेजस्तै १००० जनाभन्दा बढी प्रत्यक्ष रोजगारमा संलग्न भएको चितवनको मुद्रण क्षेत्रमा १३० करोडभन्दा बढीको लगानी भएको छ । वार्षिक ५ करोडभन्दा बढी आयकर वापत राजश्व बुझाइरहेको मुद्रण क्षेत्रले सरकारबाट पाउने सुविधा भने शून्य नै छ । मुद्रणलाई उद्योग नमानेर सेवा व्यवसाय भनी बैंकले ब्याजदर बढी लिइरहेको छ एकातिर भने अर्कोतिर फेन्सी दोकानलाईजस्तो हेर्ने सरकारी दृष्टिकोण दुःखलाग्दो छ । हाल चितवनका मुद्रण उद्योगहरूमा नेपाली कादारले नै रोजागारी पाइरहेका छन् ।
इमेल, इन्टरनेटको सुविधासँगै फ्लपी, सिडी फ्लप भएका छन्, फोटोकपी मेसिन, पोलिप्लेट, भर्टिकल क्यामेरा स्थापित मेटल प्लेटलाई सि.टि.पी. ले विस्थापित गरिदिएको छ । मुद्रणजगत् डिजिटलाइज्ड भएको छ । एकै ठाउँबाट विश्वको गतिविधि बुझ्न सकिने अत्याधुनिक प्रविधिको विकास भएको छ । टेलिप्रिन्ट मात्र होइन ध्वनिप्रिन्ट पनि हुँदैछ । हाल चितवनमा सञ्चालित अग्रपङ्क्तिमा आउने प्रेसहरूमा क्वालिटी प्रेस, भरतपुर–९, बसपार्क, सिद्धबाबा प्रेस प्रा.लि. भरतपुर, चितवन, कालिका प्रिन्टिङ एण्ड प्याकेजिड उद्योग प्रा.लि., पशुपति प्रिन्टिङ्ग प्रेस छन् । हाइडलवर्ग, चेकजस्ता आधुनिक र रङ्गिन मेसिन जडित उपर्युक्त छापाखानाहरूका साथै भारतलगायत विभिन्न देशमा उत्पादित मेसिनहरूबाट गुणस्तरीय छपाइले सङ्घीय राजधानी काठमाडौंका प्रेसहरूसँग प्रतिस्पर्धा गर्न उद्यत छन् । नेपाल मुद्रण उद्योग महासङ्घको नेतृत्व हाल चितवनकै कालिका प्रिन्टिङ एण्ड प्याकेजिङ उद्योग प्रा.लि. का सञ्चालक श्री खोमकान्त रेग्मीले गरिरहनु भएको छ भने क्वालिटी प्रेसका सञ्चालक अर्जुन सापकोटा केन्द्रीय नेतृत्व पङ्क्तिमा पुगेर देशभरिकै मुद्रण क्षेत्रलाई हाँकिरहनु भएको छ । अपेक्षा गरौं चितवनको व्यक्तिले मात्र हैन निकट भविष्यमा समग्र देशको जनस्तरमा सञ्चालित मुद्रण गुणस्तरको नेतृत्व गर्न यहाँको मुद्रण क्षेत्र सक्षम हुनेछ ।
।। अस्तु ।।
Recent Posts
कसरी बन्न सक्दछ सबल व्यावसायिक संस्था
November 30, 2024
नेपाल मुद्रण उद्योग : समाधानका उपायहरु
November 26, 2024
नेपाल मुद्रण महासंघको गतिविधि
November 22, 2024
आ.व. २०७९/०८० को बजेट मार्फत सम्बोधन गराउनका लागि नेपाल मुद्रण महासंघ मार्फत नेपाल सरकारलाई पेश गरिने सुझावहरुः
November 22, 2024
ललितपुर मुद्रण उद्योग संघ
November 22, 2024